मार्जिन कारोबार सम्बन्धि निर्देशन |

नेपाल धितोपत्र वोर्डले ‘मार्जिन कारोबार सम्बन्धि निर्देशन २०७४’ जारी गरेको छ | यसले दलाली मात्र गरिरहेका दलालको कार्यक्षेत्र विस्तार हुने तथा सक्रिय लगानीकर्तालाई थप लगानी गर्न सहजता दिनेछ | शेयरबजारमा लगानी सहज गराउने महत्त्वपूर्ण वित्तीय उपकरण मार्जिन सम्बन्धि नीतिगत व्यवस्था हुनुले शेयरबजारको गुणात्मक र परिमाणात्मक विकास र विस्तार गराउन अहम भूमिका खेल्न सक्छ भन्दा अत्युक्ति हुन्न |   

मार्जिन कारोबार 
लगानीकर्ताले तोकिए बमोजिम ‘ऋणको मूल्यांकन अनुपात’ (लोन टु भ्यालुएसन रेसियो) अनुरुपको प्रारम्भिक (इनिसियल) मार्जिन बुझाएपछी शेयर किन्न नपुग बाँकी रकम दलालले उपलब्ध गराउने विधि मार्जिन सुबिधा हो | सामान्य अर्थमा दलालसँग ऋण लिएर शेयर किन्न पाउने सहज सुबिधा हो | बजारमा सक्रिय र लगानीको उचित व्यवस्थापन गर्नसक्ने लगानीकर्ताले दलालबाट रकम सापट लिएर शेयर किन्न सक्ने भएकोले यसले कारोबारको दायरालाई फराकिलो बनाउन सक्छ | यसप्रकारको ऋण सुबिधा सक्रिय लगानीकर्ताका लागि मात्र सहज हुनसक्छ | आक्कल-झुक्कल कारोबार गर्नेका लागि भने यस्ता ऋण सुबिधा खास लाभदायक हुन्न |

निर्देशनमा भएका व्यवस्था

वोर्डले जारी गरेको मार्जिन कारोबार सम्बन्धि निर्देशनमा २३ बुँदा र २ वटा अनुसूची रहेका  छन् | निर्देशनमा भएका मुख्य बुँदाहरुमा (१) १० हजार शेयरधनी भएको तथा धनात्मक नेटवर्थ रही पछिल्लो २ वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनुपर्ने, (२) मार्जिन उपलब्ध गराउने दलालको खुद सम्पति (नेटवर्थ ) कम्तिमा ५ करोड हुनुपर्ने, (३) १८० दिनको औसत वा बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत रकम ग्राहकसँग प्रारम्भिक मार्जिन लिनुपर्ने, (४) मार्जिन कारोबार अवधिभर बजारको अवस्था र जोखिम हेरी ४० प्रतिशत सम्भार (मेन्टिनेन्स) मार्जिन माग गर्नसक्ने, (५) मार्जिन सुबिधा लिने ग्राहकले सम्भार मार्जिन भुक्तान गर्न नसके, इन्कार गरे वा सम्पर्कमा नआए मार्जिन सुबिधा अन्तर्गत खरिद गरेको शेयर बिक्रि गर्नसक्ने, (६) दलालले मार्जिन सुबिधा दिनु अघि लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरण सहित स्टक एक्सचेन्जमा सहमतिको लागि निवेदन पेश गर्नुपर्ने र एक्सचेन्जले आवश्यक अध्ययन गरि सहमति दिनुपर्ने तथा सो को जानकारी वोर्डलाई दिनुपर्ने, (७) दलालले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन सुबिधा दिनसक्ने, (८) दलालले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन सुबिधा दिनसक्ने, (९) कुनै एक ग्राहक तथा निजको एकाघरको सदस्यलाई आफ्नो नेटवर्थको १० प्रतिशत भन्दा बढी मार्जिन सुबिधा दिन नपाउने, (९) मार्जिन सुबिधा दिँदा लगानी विविधीकरणलाइ ध्यान दिनुपर्ने, (१०) मार्जिन सुबिधा अन्तर्गत खरिद गरेको शेयर सम्बन्धि विवरण कारोबार भएको भोलिपल्ट १२ बजे भित्र स्टक एक्सचेन्जलाई उपलब्ध गराउनुपर्ने र साप्ताहिकरुपमा वोर्डलाई जानकारी गराउनुपर्ने, (११) एक्सचेन्जले मार्जिन सुबिधा अन्तर्गत कारोबार भएको शेयरको विवरण भोलिपल्ट आफ्नो वेवमा राख्नुपर्ने, (१२) दलालले मार्जिन कारोबार सुबिधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गर्नुपर्ने, (१३) सम्झौतामा शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क वा व्याज, खरिद गर्ने शेयरको विवरण तथा अन्य आवश्यक शर्त बन्देज उल्लेख गर्नुपर्ने जस्ता व्यस्था गरिएको छ | अनुसूची १ मा दलालले स्टक एक्सचेन्जलाई मार्जिन कारोबार सुबिधा अन्तर्गत दैनिक खरिद भएको शेयरको प्रतिवेदन दिने ढाँचा र अनुसूची २ मा एक्सचेन्जले वेबमा राख्नुपर्ने सूचनाको ढाँचा दिइएको छ |

साझेदार र लाभ
मार्जिन कारोबारका मुख्य साझेदार लगानीकर्ता र दलाल हुन् | लगानीकर्ताले लगानीको लागि सहजरुपमा रकम र दलालले थप कार्यक्षेत्र प्राप्त गर्छन | लगानीको लागि सहज सुबिधा प्राप्त हुँदा लगानीकर्ताको क्रयशक्तिको सिमा बढदा लगानीकर्ता र दलाल दुबैको आम्दानी बढ्छ र राज्यलाई समेत थप कर प्राप्त गर्ने अवसर प्राप्त हुन्छ | लगानीकर्ता र दलाल बाहेक एक्सचेन्ज पनि यसको अर्को साझेदार हो | त्यस्तै केन्द्रीय निक्षेपक, निक्षेप सदस्य, समाशोधन बैंक समेत यसमा जोडिएर आउँछन् र यिनले पनि थप आम्दानी प्राप्त गर्नसक्छन् | बजार विस्तारित हुँदै जाँदा यसको मूल श्रेय भने धितोपत्र वोर्डले प्राप्त गर्छ | सक्रिय लगानीमा आउन चाहेका तर बैंकसम्म गएर ऋण लिन असमर्थ लगानीकर्ताले थोरै-थोरै मार्जिन लिएर कारोबार गर्दै आफ्नो सक्रियता बढाउन सक्छन र आफ्नै स्रोतबाट नियमित कारोबार गरिरहेका लगानीकर्ता स्वत: लाभान्वित हुनेछन |

केहि सुझाव
मार्जिन सुबिधा हाम्रो सन्दर्भमा अत्यन्त नौलो विषय (अनौपचारिकरुपमा चलेका कमोडिटी बजारमा अनौपचारिक उपयोगमा आएको) भएकोले यसको औपचारिक कार्यन्वयन शुरु नहुँदासम्म नकारात्मक टिकाटिप्पणी गर्नु ‘……….ले हाती छामे जस्तो’ मात्र हुने हुनाले अतिरन्जित र अनर्गल प्रचार गर्नुपर्ने आवश्यकता छैन | बच्चा पनि जन्मनासाथ बामे सर्दैन, बामे नसरी हिड्न शुरु गर्दैन र हिड्न शुरु नगरी दौडिन सक्दैन | दलालको पूँजी नै छैन, कहाँबाट ल्याएर दिन्छ, अरबौं पूँजी भएका बैंकले त दिनसकेका छैनन्, लगानीकर्ता मैत्री भएन, दलाल मैत्री भयो, दलाल आफूले मात्र लिन्छ, आफन्तलाई मात्र दिन्छ भन्ने जस्ता दिग्भ्रमित पार्ने ‘अमूर्त’ टिप्पणी गर्दै ‘स्याल हुइयाँ’ मच्चाईरहेका पनि प्रशस्त भेटिएका छन् | यस्ता ‘दिग्भ्रम र हुइयाँ’ को पछी लाग्नु भन्दा यसको कार्यविधि कस्तो बन्नुपर्छ भनेर रचनात्मक सुझाव कार्यविधि निर्मातालाई दिनु श्रेयस्कर कार्य हो | साथै निर्देशनमा पनि केहि थपघट गर्न आवश्यक छ भने त्यसतर्फ पनि ध्यान आकृष्ट गर्दा अझ राम्रो हुन्छ | केहि सुझाव र सुधारका पाटाहरु निम्न हुनसक्छन् |

(१)  शेयरधनीको सङ्ख्या भन्दा चुक्ता पूँजी कम्तिमा ५० करोड भएका कम्पनीका शेयरमा मात्र मार्जिन दिने व्यवस्था उचित हुन्छ | २ करोड र १५ अरव पूँजी हुने कम्पनीका हैसियत एकै हुन्न | अत्यन्त कम पूँजीयुक्त कम्पनीका शेयर ‘पम्प एण्ड डम्प’ र ‘कर्नरिंग’ बढी हुने भएकोले लाभांश दिएकै भरमा मार्जिन दिन सकिने व्यस्था उचित हैन |  

(२)  कार्यक्षेत्र बढेकोले दलालको चुक्ता पूँजी कम्तिमा ५ करोड पुर्याउनुपर्छ र दलाललाई क्रमशः पब्लिक कम्पनीकोरुपमा परिणत गर्नुपर्छ |

(३)  नेटवर्थ दोब्बर भएका कम्पनीको लागि प्रारम्भिक मार्जिन बढाउनुपर्छ |

(४)  लाभांश नबाँडे पनि धनात्मक नेटवर्थ भएका कम्पनीको शेयरमा पनि मार्जिन दिन सकिने व्यवस्था गरिनुपर्छ |

(५)  सम्भार मार्जिनको लागि ‘बजारको अवस्था र जोखिम हेरी’ भन्ने अमूर्त व्यवस्थाको सट्टा प्रष्ट व्यवस्था राखिनुपर्छ | खरिद गरेको मूल्यमा कति प्रतिशत गिरावट आएमा सम्भार मार्जिन र मार्जिन कल गर्ने अंक तोकिनुपर्छ |

(६)  सम्भार मार्जिन वा मार्जिन कल गर्दा भुक्तान नगर्ने, इन्कार गर्ने वा सम्पर्कमा नआउने ग्राहकलाई ‘कालो सूची’ मा राख्ने र ऋण तिरेको निश्चित समय पुरा नभएसम्म पुनः मार्जिन लिन नपाउने गरि रोक लगाउनुपर्छ |

(७)  दलालले जुनसुकै वर्गको बैंक वा वित्तीय संस्थाबाट रकम लिन पाउने हुनुपर्छ | वर्ग अनुसार रकमको सिमा भने तोक्न सकिन्छ |

(८)  धितोपत्र कानुनमा परिवारको परिभाषा नगरिएकोले कुन कानुनलाई आधार मानेर एकाघर छुट्टयाउने समस्या पर्ने भएकोले कार्यविधिमा यसको प्रष्ट व्यवस्था गरिनुपर्छ |

(९)  तोकिएको समयभित्र साधारणसभा नगर्ने कम्पनीको शेयरमा मार्जिन दिन नपाइने व्यवस्था गर्नुपर्छ |

(१०)     मार्जिन शुरु भएपछि दलाल कमिसन क्रमशः घटाउँदै लैजाने प्रवन्ध मिलाउनुपर्छ | 

अभियान दैनिकमा प्रकाशित 

Post a Comment

0 Comments

Comments

close