बुक क्लोज सम्बन्धि अन्योल र वास्तविकता |

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएका कम्पनीमा शेयरधनीको आगमन र बहिर्गमनसँगै शेयरधनी लगतमा दर्ता र खारेजी गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ | बिक्रीकर्ता शेयरधनीको नामबाट क्रेता शेयरधनीको नाममा शेयर नामसारी भई नयाँ लगत बनिरहेको हुन्छ | शेयरधनीको लगत दर्ता र खारेजी गर्ने कार्य विशेष अवस्थामा बन्द पनि गरिन्छ | यसलाई ‘शेयरधनी दर्ता पुस्तिका बन्द’ वा प्रचलित भाषामा ‘बुक क्लोज’ भनिन्छ |

बुक क्लोज सम्बन्धि कानुन

कम्पमी ऐनमा ‘दर्ता किताब’को परिभाषा गरिएको छैन | अमुक दफा बमोजिम खडा गरिएको शेयरधनी वा डिवेन्चरवालाको दर्ता किताब सम्झनुपर्छ भनेको छ | कम्पनीले तोकिएको ढाँचामा शेयरधनी र डिवेन्चरवालाको दर्ता किताब खडा गरि कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नुपर्ने व्यवस्था छ | शेयरधनीको दर्ता किताबमा शेयरको क्रमसंख्या अनुसार प्रत्येक शेयरधनीको सम्बन्धमा (१) शेयरधनीको पुरा नाम र ठेगाना,(२) लिएको शेयर संख्या,(३) शेयर वापत चुक्ता गरेको जम्मा रकम र चुक्ता गर्न बाँकी रकम, (४) शेयरधनीको रुपमा निजको नाम दर्ता भएको मिति, (५) शेयरधनीको नाम खारेज भएको मिति र (६) शेषपछी शेयरमा हक लाग्ने कुनै व्यक्तिलाई इच्छाइएको भए त्यस्तो व्यक्तिको नाम र ठेगाना खुलाउनुपर्ने व्यवस्था छ | त्यस्तै डिवेन्चरवालाको दर्ता किताबमा पनि शेयरधनीको दर्ता किताबमा हुने सरहको व्यहोरा सहितको विवरण राख्नुपर्ने व्यवस्था छ |

यसरी खडा गरिएको दर्ता किताब शेयरधनीले निरीक्षण गर्न चाहेमा दिनुपर्छ | पब्लिक कम्पनीले राष्ट्रियस्तरको पत्रिकामा सात दिन अघि सूचना प्रकाशन गरि वर्षभरिमा ४५ दिन नबढाई एकपटकमा ३० दिनसम्म दर्ता किताबको निरीक्षण बन्द गर्नसक्छ | शेयरधनीले दर्ता किताबको प्रतिलिपि लिन चाहेमा दर्ता किताब बन्द गरिएको अवस्थामा बाहेक तोकिए  बमोजिमको दस्तुर लिई प्रतिलिपि दिनुपर्छ |

लगानीकर्ताहरु बुक क्लोज सम्बन्धमा संधै अलमलमा परेको देखिन्छ | बुक क्लोज सम्बन्धि सैद्धान्तिक पक्षको जानकारी नहुँदा लगानीको सहि उपयोग गर्न सकिन्न | बुक क्लोज हुने मुख्यतः तीनवटा घटना हुन्छन |

वार्षिक साधारणसभा

कुनै पनि कम्पनीले आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ | वार्षिक साधारणसभा शेयरधनीहरुको वार्षिक भेला, वैधानिक प्रावधान र सर्वोच्च अंग पनि हो | साधारणसभाले अख्तियारी दिएको सीमाभित्र रहेर संचालक समितिले कम्पनी संचालन गर्छ | वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लाभांश, संचालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पेश हुन्छ | यस्ता सभामा सकेसम्म शेयरधनी आफैँ उपस्थित हुनुपर्छ र उपस्थित हुन नसक्ने भएमा अर्को शेयरधनीलाई आफ्नो प्रतिनिधि (प्रोक्सी) तोक्न सक्छन | प्रोक्सी मार्फत भएको उपस्थितिलाई पनि आफैँ उपस्थिति भए सरह मान्यता दिइन्छ |

स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनीका शेयर दैनिक खरिदविक्री हुन्छ | यसरी दैनिक खरिदविक्री हुने भएकोले कम्पनीले साधारणसभा प्रयोजनको लागि कुनै एउटा निश्चित दिन तोकेर शेयरधनीको दर्ता र खारेजी गर्ने कार्यको लागि बुक क्लोज गर्ने गर्छन | साधारणसभाको लागि कम्तिमा २१ दिन अगाडी शेयरधनीहरुलाई सभा हुने स्थान, मिति, छलफल हुने विषय समेत खोली व्यक्तिगतरुपमा दिईर सोहि व्यहोरा खोली राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तिमा दुईपटक सूचना प्रकाशन गर्नुपर्छ | यस्ता सूचनामा बुक क्लोज हुने सम्बन्धि सूचना समेत खोल्नुपर्छ | उदाहरणको लागि कुनै कम्पनीले पौष महिनाको २५ गते साधारणसभा गर्ने भएमा सोहि पौष महिनाको ४ गते सूचना प्रकाशन गर्नुपर्छ | यहि सूचनामा सोहि पौष महिनाको १२ गतेबाट साधारणसभा हुने दिन  पौष २५ गतेसम्म  बुक क्लोज रहने कुराको पनि जानकारी दिनुपर्छ | यो सूचना अनुसार यस कम्पनीको पौष ११ गतेसम्म शेयर किन्नेले मात्र साधारणसभामा भाग लिन र लाभांशमा सहभागी हुन् पाउँछन् | पौष १२ गतेदेखि किन्नेले पाउँदैनन् | बुक क्लोज गर्नुको सैद्धान्तिक कारण साधारणसभा हुने दिनको लागि शेयरधनी यकीन गर्नु हो | बुक क्लोजको अवधिमा पनि शेयर किनबेच भने निरन्तर हुनसक्छ |

विशेष साधारणसभा

बुक क्लोज विशेष साधारणसभा प्रयोजनको लागि पनि हुन्छ | कम्पनीले वार्षिक साधारणसभा गरिसकेपछी कुनै विषयमा निर्णय नगरी नहुने भएमा यस्ता सभा आव्हान गर्ने गर्छन | विशेष साधारणसभाको लागि भने कम्तिमा १५ दिन अघि सूचना प्रकाशन गर्नुपर्छ | विशेष साधारणसभा हकप्रद शेयर जारी गर्ने, गाभ्ने गाभिने वा विलय, शेयर सरंचना परिवर्तन लगायत प्रवन्धपत्र नियमावली संशोधन हुने लगायतका विषय समावेश हुन्छ | यस्ता सभा कम्पनी आफैँ र कम्पनी कानुन अनुसार तोकिएका अवस्थामा बोलाइन्छ |

लगानीकर्ता सबभन्दा बढी अलमलमा पर्ने यस्तै विशेष साधारणसभा हुन् | उदाहरणको लागि कुनै कम्पनीले पौष महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरिसकेको रहेछ र चैत्र महिनामा हकप्रद जारी गर्ने सम्बन्धि निर्णय संचालक समितिले गरेमा यसलाई शेयरधनीको सभाले पारित गर्नुपर्ने भएकोले विशेष साधारणसभा बोलाउनुपर्छ | यस्ता सभाका लागि हुने बुक क्लोजलाई नै हकप्रद भर्ने समय तोकियो भनेर हतार-हतार शेयर किनिरहेका हुन्छन | तर वास्तवमा यो दिन हकप्रद भर्न कायम शेयरधनी यकीन गर्न बुक क्लोज गरिएको हुन्न | बुझ्नुपर्ने चुरो कुरो यहि हो | यो बुक क्लोज विशेष साधारणसभाको लागि हो | सभाले निर्णय पारित गरेपछि पनि त्यसलाई कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेख गर्ने, आवश्यकता अनुसार क्रेडिट रेटिंग गर्ने र अन्तमा धितोपत्र वोर्डबाट स्वीकृति लिन अझ धेरै समय बाँकी नै हुन्छ |

हकप्रद बिक्री

माथि उल्लेखित दुई अवस्था बाहेक अर्को एउटा समय पनि छ | यो समय भनेको कुनै कम्पनीले हकप्रद प्रस्ताव पारित गरि सम्वद्ध निकायबाट स्वीकृत लिएपछि हकप्रद विक्रीको  लागि शेयरधनी कायम गर्नको लागि एक दिन बुक क्लोज मिति घोषणा गरिन्छ | जस्तो कुनै कम्पनीले हकप्रद जारी गर्न स्वीकृत पाएपछि जेष्ठको ११ गते एकदिन बुक क्लोज हुने सूचना सात दिन अघि जेष्ठ ३ प्रकाशन गर्छ | बुक क्लोज हुने भनिएको अगिल्लो दिन जेष्ठ १० गतेसम्म स्टक एक्सचेन्जबाट शेयर किन्ने व्यक्ति मात्र हकप्रद लिन योग्य हुन्छ र त्यसपछि किन्ने व्यक्ति योग्य हुन्न | लगानीकर्ताले नबुझी नहुने एउटा महत्वपूर्ण बुक क्लोज यो पनि हो |

यसबाहेक म्युचुअल फण्डका इकाई पनि नेप्सेमा खरिदबिक्री हुने भएकोले यसको व्यवस्थापकले लाभांश वितरणको लागि  इकाईधनी कायम गर्न सात दिनको सूचना दिएर एक दिन बुक क्लोज गर्छन | यस्ता फण्डले साधारणसभा भने गर्नुपर्दैन |

शेयरमा सजिलै लगानी हुन्न | शेयरबजार सम्बन्धि यस्ता र अन्य धेरै प्राविधिक शब्दावलीहरुको राम्रो ज्ञान  राख्नुर्छ| कम्पनीले दिने सूचनामा लगानीकर्ता सदा सचेत हुनुपर्छ | स्टक एक्सचेन्ज र धितोपत्र वोर्डको सूचना प्रणाली अत्यन्त कम्जोर छ | शेयरधनीले सरल र सहजरुपमा सूचनाहरु पाउन सक्ने अवस्था अग्रपंक्तिको नियमक स्टक एक्सचेन्जले गराउन सकेको छैन | स्टक एक्सचेन्ज आफैँ जिम्मेवार बन्न नसकेकोले कम्पनीलाई जिम्मेवार बनाउन सकिने अवस्था हुन्न | यसको लागि धितोपत्र वोर्डले स्टक एक्सचेन्जलाई जिम्मेवार बनाई लगानीकर्ता हितको लागि कार्य गराउन आवश्यक छ | वोर्डले पनि सूचना नदिने वा सूचना चुहाउनेलाई गम्भीर फौजदारी अभियोगसम्म लगाउन पछी पर्नु हुन्न |

Post a Comment

0 Comments

Comments

close