"पहिलो कमाइ" कथा | राेशन जंग राउत.

श्रावणको बर्खे झरिको महिना आकाशले पनि एकतमासले पानी वर्षाउदै चारै तिर हिलाम्य बनाइरहेको थियो।

खोलाहरु उर्लदै कुर्लदै नदि सङ्ग मिल्न उत्तेजित हुँदै बगिरहेको थियो। चर्को घाम ले विरक्तिएको संसार बर्खामा पानी वर्षदा हर्षित र खुसी देखिन्थे।

चराचुरी नाच्दै,गाउदै,रमाउदै थिए यतिबेला अनि प्रकृति पनि अरु भन्दा के कम हुन खोज्थी र..... रमणिय हरियालिको श्रृङ्गारले सुशोजित भइ आफ्ना सुन्दरता चरम बिन्दु मा राखेर संसार लाई शितलता प्रदान गर्दै थिइन्, मीठो मुस्कान छर्दै।

अब त्यति नै बेला टाढा बाट पहिलो पटक परिवार सङग टाढिएर सपना पूरा गर्न, आमालाइ नया कुर्ता, बुवा लाई नया कपडा किनिदिन र घरको चुहिरहने छानो नचुहिने गरि टाल्न भनी धन कमाउन दुर गएको छोरो आफ्नो पहिलो कमाइ लिएर घर फर्कदै थियो।

फर्कनु भन्दा केही क्षण अगाडि फोनमा
" आमा! म आज घर आउदै छु.."
झोला उतार्दै भने।

आमा को त मन छोरो घर फर्कने भन्ने कुरा सुन्ना साथ खुसी हुनु भैहाल्यो नि
"होर बाबू? कति बेला आउछस् नि घर?

हल्का हासो राख्दै; उता बाट आमाले प्रतिप्रश्न तेर्स्याइ हाल्नु भो।
यता बाट मैलेनी "भरे तिर आइपुग्छु होला आमा म घर"
भनेर सामान झोला मा हाल्दै भने।

आमाले पनि "लल बाबू! राम्रो सङ्ग आउनु एता उति होला बिचार गर्नु" भनेर सम्झाउदै ममता पोख्दै हुनुहुन्थ्यो पछाडिबाट बुवाले "गाडिको बिच तिर बसेर आइजे भन् पछाडी बस्यो भने अलि उफार्छ; उल्टि आउन सक्छ" भनेर आमालाइ भन्दै हुनुहुन्थ्यो मैले सुनिहाँले ।

अनि त्यस्पछी मैले पनि
"हुन्छ आमा तपाईंहरु चिन्ता नलिनु म सकुशल आउछु" भनेर झोला को जिप लाउदै फोन राख्दिए

लगत्तै एकछिनमा म बसपार्क आइपुगे।
गाउँघर , परिवार र साथिभाइहरु सङ्ग बिताएका रमाइला पलहरुको मीठो कल्पना गर्दै त्यहाँ बाट बस चढेर म घर तिर हानिए।

बर्खे भलले खेतका गराहरु; डुबाउदै गर्दा धान का टुप्पाहरु पानी माथी हावाको प्रवाहले हलचल गरिरहेको ,
चराहरु हुलमा नाच्दै विभिन्न आकार फेर्दै गगन चुम्न उडिरहेको सुन्दर दृश्यहरु ले आँखा लोभ्याउन धेरै बेर लगाएन,

भर्खर भर्खर वर्षाले लुथ्रुङ्गै भिजेका डाँडाकाँडा बाट आइरहेको मीठो सुगन्ध लाई बसको झ्याल बाट मेरा तन र मन ले स्पर्श गरिरहदा सिङ्गो स्वर्गको प्रादुर्भाव धर्तिमा भए जस्तो अनुभुति हुँदै थियो।

मन हर्षित हुँदै धड्कन बढ्न थाल्यो; हृदय गदगद भै खुसिले झन सिमा पार गर्न लागे बस मा गाउघरको मिठो सम्झनाले झनझन विथोल्न लाग्यो…… अनि म एक्लै हास्न थाले; मन्द मन्द मुस्कान छर्दै।

मेरो गाउँ कस्तो भयो होला?
बैनी ले दाइ आयो भन्छे कि भन्दिन होलि?
म घर पुग्दा आमाले के भन्दि हुन्?
बुवा ले कस्तो प्रतिक्रिया दिनु हुन्छ होला?
साथिभाइ के गर्दै छन् होलान्?
नजिकै का छिमेकिहरुले म घर पुगेसि के भन्लान्?

यस्तै प्रशनहरु मनमा खेलाउदै सिमसिम मुस्कान छर्दै कल्पनामा डुब्दै थिए' ओर्लने ठाउँ घर भन्दा अलि तल चोकमा बस आइपुगेछ; खलासी दाइले झर्ने ठाउँ आयो भाइ भन्दै झस्काइदिनु भो र म बसेको सिटबाट उठेर आमोदको श्वास फेरेर लामो सुस्केरा हाल्दै बस बाट ओर्लिए।

खेतका ति फाँटहरुमा असारे धान रङ्गि रहेको थियो; तरङ्गित गराउने चिसो बतास चलिरहेको थियो; घाम अस्ताउन तमतयार भएर रातो हुँदै पश्चिममा अड्डा जमाइसकेको थियो.... धेरै दिन पछि गाउँ आएको हर्षले मदिरापान गरेको व्यक्ती झै गोडा यताउती हल्लाउदै म बाटोमा सुसेली धुन सुसेल्दै गाउँ तिर लागे।

गाउँ छिर्ने बेलाकै पहिलो घर कि दिदीले "धेरै दिन पछि झुल्क्यौ त भाइ; कता हराएको थियौ यतिका दिन सम्म?
बारिको थाक्रो मिलाउदै प्रश्न गर्नु भो।

"कतै होइन दिदि ; कामले गर्दा सहर तिर गएको थिए गाउघरको साह्रै याद आएर यसो दुइचार दिन बसुँ कि भनेर आएको" झोला मिलाउदै दिदिलाइ उत्तर दिए।

"ए…… के काम गर्छौ नि सहर तिर चाइ? थाक्रोको झाङ तान्दै दिदिले अर्को प्रश्न गर्नु भो।

"हजुर! त्यस्तो ठूलो काम त हैन सानोतिनो घरबार गुजारा" भनेर हिड्न लाए जसरी मुसुक्क हास्दै भने।

यस्तै कुराहरु भइरह्यो निकै बेर। घाम डुब्नै लागिसकेको थियो, आफुलाइ हतार भैरहेको थियो घर पुग्न "लल दिदी अहिले लाई म लागे; भोलि तिर भेटेर कुरा गरौँलानी" भन्दै पुनः झोला मिलाउदै त्यहाँ बाट निस्किए।

अलि पर हिड्दै घर नजिकै पुगिसकेको थिए फेरि नजिकैको छिमेकी आन्टी ले
" बल्ल लाहुरे आयो! लाहुर बाट! झिल्के बनेर"
धारामा भाडा पखाल्दै हासेर बाटो मै जिस्क्याइहाल्नु भो।

हुन पनि झोलासोला भिरेको हल्का लाहुरे पारा नै थियो मेरो " अँ आन्टी आउनै पर्यो; न आइ भएन के गर्नु" भनेर हास्दै उत्तर दिहाले।

उहाँसङ्गै घर जोडिएको अर्को छिमेकी भाउजू पनि " छोरो आज घर आउदै छ भनेर मीठो मीठो पकाएर राख्नु भको छन् आमाले" पर्खाल माथी बाट चियाउदै आधा ज्यान देखाएर हास्दै जिस्क्याउन पछि पर्नु भएन।

मनमनै सोचेँ "आमाको मन………! म घर आउदैछु भनेर वरपर भनिसक्नु भएछ।
"हजुर भाउजू मीठो मीठो खानु त पर्योनी बल्ल बल्ल आको छोरो" ठट्यौली पारामा दन्ते लहर देखाउदै फ्याट्टै भनिहाले।

त्यस्तै कुराहरु गर्दै सरासर हिडेर एकैछिनमा म घर अगाडि आँगनमा पुगेँ र धित मरुन्जेल घर लाई हेरेँ। छेउको करेसा बारिमा भर्खर तरकारी लगाउनु भएको रहेछ। लामो श्वास फेर्दै म घर भित्र छिरे; र खाटमा बसेर थकान मेटाउदै झोला बिसाए।

आमाहरु पछडी हुनुहुदो रहेछ; पछाडिको ढोकाबाट चियाउदै आमा! आमा! भन्दै बोलाउदै बाहिर निस्के। बुवा वारि गोड्दै हुनुहुन्थ्यो, आमा धारामा तरकारी पखाल्दै अनि बैनी भित्र टि.भि. हेर्दै रछे।

बुवाको अलि कडा बोल्ने बानी म तिर नजर घुमाउदै "उ तेरो छोरो आयो" आमा लाई भन्नू भो।

आमा पनि हर्ष ले "कति बेला आइस् बाबू"? तरकारिको भाडा लिएर उठ्दै सोध्न थाल्नु भो।

"भर्खर आएर पछाडि आएको; सन्चै हुनुहुन्छ त तपाइहरु"? छेउको मेचमा बस्दै आमालाइ सोधे।

"अँ बाबू सबैलाइ सन्चै छ यहाँ; अनि तलाइ सन्चै छ नि"? तरकारिको भाडो अगेना नेरी राख्दै भन्नू भो।

"हजुर अँ सन्चै छ मलाइ पनि" भित्तामा आड लाउदै उत्तर दिए।

बुवापनी हातगोडा धोइ पखाली नजिकै मेचमा आएर बस्नु भो।
धेरै समयपछि सबै सङ्ग बस्न पाउँदा आनंद को अनुभव भैरहेको थियो। जतिनै टाढा गएर बसेपनि आत्मातत्व टाढा भएको थिएन।

आमा तरकारी पकाउदै थिइन्; बैनी र बुवा बसिरहेका थिए;निकै बेर कुरा भयो।

दिनभरको बस चढाइ ले शरीर एकदम थकित अवस्था मा थियो; मेच बाट उठेर एकछिन भित्र खाटमा आएर पल्टिए,थकान मेटाउदै।

पल्टेको मात्रै थिए थकान ले छिट्टै आँखा लागेछ । केहिबेर पछि बैनी बोलाउन आइ "दाइ खाना खान आइजे"भन्दै। उठेर गए हातगोडा मुख धोए अनि आएर खाना खान बसे।

"अनि बाबू काम राम्रै सङ्ग चलिरहेको छ नि"? खाना पस्कदै आमाले सोध्नु भो।

"राम्रै चलिरहेको छ अहिले सम्म त" आमातिर नजर घुमाउदै भने।

"कति दिनको छुट्टी लिएर आको घर"? औँखरा उठाउदै बुवाले सोध्नु भो।

"धेरै छैन दुइचार दिन बसेर जान्छु होला" खाना आफु तिर तान्दै उत्तर दिए।

"मात्रै"? आमा झस्कनु भो।

"अँ उतापनी धेरै काम छ; घरको याद आएर बल्ल बल्ल छुट्टि मिलाएर आको" गाँस हाल्दै भने।

यस्तै दुख सुख का कुरा हुँदै गयो। धेरै दिन पछि सबैसँग बसेर आमाको हातको खाना खान पाउदा खुसी थिए; हृदय तृप्त भएको अनुभव भैरहेको थियो

एकछिनमा खाना खाइ भ्याएर म कोठा तिर लागे। आमाले पनि धन्दा गरि भ्याएर भित्र छिर्नु भो।

आउने बेला बजारमा किनेको थोरै कोसेली झोलाबाट झिक्दै आमा लाई दिए। बैनी लाई पनि सानो उपहार ल्याइदिएको थिए रमाउदै भित्र कोठामा लिएर गइ।

"आमा यी लिनु मेरो पहिलो कमाइ" गोजि बाट पैसा झिकेर दिए।

"हरे! हेर्नुस त रोशन को बुवा छोरो को कमाइ" हास्दै बुवालाई देखाउनु भो।

बुवा पनि पल्लो खाटमा बसेर मुसुमुसु हास्दै हुनुहुन्थ्यो।

आमाको मन कठै....! पैसा को थोरै अंश दिएर "ला तलाइ अलिकती खर्च चाहिन्छ होला"भनेर हातमा राख्दिनु भो।

"पर्दैन! पर्दैन! आमा म सितै छ अहिले लाई अलि अलि" पैसा पुन: फिर्ता गर्दै भने।

आमा लाई कस्ले जित्न सक्नु " लिग न! अहिले यति भए पुग्छ हामिलाइ" भन्दै फेरि हात मै थमाइदिनु भो।

आमाको कोमल हृदयले ममता पोख्दै दिनुभएको रकम कसरी नलिनु म?
मनले मानेन; पैसा गोजिमा राख्दै आमातिर हेरे ,आमा हास्नु भो ; म पनि खुसी भए आमाको मुहार मा हासो देख्न पाउदा।

"पैसा धेरै फुरमासी नगरेस्; पछि काम लाग्छ" पल्लो खाट बाट बुवा ले भन्नु भो।

"हस्! खर्च नि कहाँ गर्नु र!" बुवा पट्टि हेर्दै भने।

एकैछिन कुरा गरेपछी आमा रकम राख्न चोटा तिर उक्लिनु भो, बुवा ले पनि "मेरो सुत्ने बेला भयो अब" भन्दै हुनुहुन्थ्यो; त्यसपछी म पनि कोठा तिर सुत्न छिरे।

परिवार सङ्ग जति नै टाढा भएर बसे पनि आत्मातत्व टाढा नहुने रहेछ; सहरको रमझम मा बस्दा को खुसी भन्दा गाउँको सुन्दर र शान्त वातावरण मा छिर्दा को खुसी बेग्लै हुने रहेछ, आमाको हातको खाना भन्दा मिठो , बुवाको गाली भन्दा प्यारो कुनै कुरा नहुने रहेछ। पहिलो कमाइ आमाबुवा लाई दिदाको रमाइलो पल जिवनमा अरु कुनै पल नहुने रहेछ।

यस्ता धेरै कुराहरुको बिस्तारै आत्मग्लानी हुन थाल्यो, भित्रै देखि हृदय हर्षले भरिपुर्ण हुन लाग्यो र म ओछ्यान मा पल्टिए। मलाइ मनपर्ने तन्ना राख्दिनु भएको रहेछ। परिवार खुसी बनाउन पाउँदाको खुसी र हर्ष लाई आत्मसात गर्दै धेरै दिन पछि चैन को निद्रा लिन पाए र आनदंका साथ आखा चिम्लिए।


लेखक/रचनाकार

रोशन जंग राउत


चितवन, बाग्मती प्रदेश, नेपाल



Post a Comment

0 Comments

Comments

close