आर्थिक विधेयक २०८० ले प्रदान गरेको छुट तथा सहुलियत Exemptions and concessions provided by the Finance Bill 2080 || Business Partner Nepal

आर्थिक विधेयक २०८० ले प्रदान गरेको छुट तथा  सहुलियत, आय वर्ष २०८०/०८१ को लागि (Exemptions and concessions provided by the Finance Bill 2080,For Fiscal Year 2080/081)



छुट तथा सहुलियत 

दफा २५ : बक्यौता कर मिनाहा सम्बन्धी विशेष व्यवस्थाः
आर्थिक वर्ष २०६३/६४ सम्मको संवत् २०६५ साल असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रति लगत पचास हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गरिएको छ। 

दफा २६ : फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्थाः
कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ।

दफा २७ : मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष
व्यवस्थाः
निकायहरु आपसमा गाभिदा वा प्राप्ति ( मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

दफा २९ : धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष
व्यवस्थाः
प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम संवत् २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ। यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ।

दफा ३०  : वैदेशिक रोजगार वा शैक्षिक परामर्श सेवा व्यवसाय गर्ने व्यक्तिलाई छुट सम्बन्धी विशेष व्यवस्थाः
वैदेशिक रोजगार वा शैक्षिक परामर्श सेवा व्यवसाय गर्ने व्यक्तिले विगतका आर्थिक वर्षहरूमा आयकर ऐन, २०५८ बमोजिम स्वदेश तथा विदेशबाट प्राप्त वास्तविक आय घोषणा नगरेको वा वास्तविक कर दाखिल नगरेको भए त्यस्तो आय घोषणा गरी संवत् २०८० साल चैत मसान्तभित्र सोमा लाग्ने आयकर दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।

दफा ३१ : आँखा अस्पताललाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएको वा नभएको आँखा अस्पतालले विगतमा मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा आर्थिक वर्ष २०७६/०७७ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने आँखा अस्पतालको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७६/०७७ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ। यसरी कर दाखिल गर्ने आँखा अस्पतालको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, थप दस्तुर, व्याज र जरिवाना मिनाहा हुनेछ।

दफा ३२ : सुजीको कारोबारमा मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) सुजी उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिले आर्थिक वर्ष २०७१/०७२ देखि संवत् २०७६ साल जेठ १४ गतेसम्मको कारोबारमा मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा सो वस्तुको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७१/७२ देखि संवत् २०७६ साल जेठ १४ गतेसम्मको त्यस्तो कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
दफा ३३ : गैरबासिन्दा व्यक्तिलाई शुल्क, ब्याज र थप दस्तुर मिनाहा सम्बन्धी विशेष व्यवस्थाः 
वार्षिक बीस लाख रूपैयाँ भन्दा बढीको विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिले स्थायी लेखा नम्बर लिई संवत् २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर संवत् २०८० साल असार २५ गतेसम्म दाखिल गरेमा सोमा लाग्ने शुल्क, ब्याज र थप दस्तुर मिनाहा हुनेछ । स्थायी लेखा नम्बर लिई करको दायरामा आइसकेका गैरबासिन्दा व्यक्तिको हकमा समेत यो व्यवस्था लागू हुनेछ ।
दफा ३४ : हायर पर्चेज कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष
व्यवस्थाः
(१) हायर पर्चेज कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको कारोबारको दुई प्रतिशतले हुने रकम संवत् २०८० साल मंसिर मसान्तसम्म दाखिल गरेमा आर्थिक वर्ष २०७७/०७८ र सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम आर्थिक वर्ष २०७७/०७८ र सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको कारोबारको दुई प्रतिशतले हुने रकम संवत् २०८० साल मंसिर मसान्तसम्म दाखिल गरेमा आर्थिक वर्ष २०७७/०७८ र सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने जरिवाना, थप दस्तुर र व्याज मिनाहा हुनेछ ।

दफा ३५ गैरसरकारी संस्थाहरुले प्राप्त गर्ने अनुदानमा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्थाः
संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका गैरसरकारी संस्थाहरुले दातृ निकाय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट प्राप्त अनुदानमा मूल्य अभिवृद्धि कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई संवत् २०८० साल मंसिर मसान्तसम्ममा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिएमा निर्धारण भएको मूल्य अभिवृद्धि कर र त्यसमा लागेको थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
दफा ३६ : निर्माण व्यवसाय गर्ने व्यक्तिलाई बक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता भएका निर्माण व्यवसाय गर्ने व्यक्तिले संवत् २०७९ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र ब्याजको पचास प्रतिशत रकम संवत् २०८० साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिमका व्यक्तिले संवत् २०७९ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न मात्र बाँकी रहेको भएमा बक्यौता कर र ब्याजको पचास प्रतिशत रकम संवत् २०८० साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ ।
दफा ३७ : ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्थाः
मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि करमा दर्ता नभएको कारण दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर दाखिला नगरेको भए मूल्य अभिवृद्धि कर लाग्ने अवधिको कारोबार रकमको पाँच प्रतिशतले हुने रकम संवत् २०८० साल पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ। त्यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई कारोबार रकमको पाँच प्रतिशतले हुने रकम संवत् २०८० साल पुस मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
दफा ३८ : मूल्य अभिवृद्धि करको दायरामा आउने जडिबुटीमा आधारित उद्योगलाई छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएका जडिबुटीमा आधारित उद्योगले आर्थिक वर्ष २०७१/०७२ देखि मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा मूल्य अभिवृद्धि कर संकलन र दाखिल नगरेको भएमा मूल्य अभिवृद्धि करमा दर्ता भई आर्थिक वर्ष २०७१/०७२ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल पुस मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७१/०७२ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल पुस मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ।
दफा ३९: दूधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई अन्तःशुल्क छुट सम्बन्धी विशेष व्यवस्थाः
अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क निर्धारण र असुल गरी विवरण पेश गर्नुपर्ने दायित्व भएका स्वयं निष्कासन प्रणालीमा आधारित अन्तःशुल्क इजाजतपत्र लिएका वा नलिएका दुधमा आधारित सुवासयुक्त पेय पदार्थ उत्पादन गर्ने उद्योगले इजाजतपत्र नलिएको भए इजाजतपत्र लिई संवत् २०७९ साल चैत्र मसान्तसम्मको कारोबारको बुझाउनु पर्ने अन्तःशुल्क विवरण र अन्तःशुल्क रकम संवत् २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिवाना र विलम्ब शुल्क मिनाहा हुनेछ। त्यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेका वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई त्यस्तो कारोबारको बुझाउनु पर्ने अन्तःशुल्क रकम संवत् २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा सोमा लाग्ने जरिवाना र विलम्ब शुल्क मिनाहा हुनेछ ।







स्रोत : Inland Revenue Department

Post a Comment

0 Comments

Comments

close