
ब्रोकरहरुले नै आफ्ना ग्राहक पहिचान गरी सेयर कारोबार गर्न मार्जिन कर्जा दिन सक्नेछन् । यसअघि कानुन अभावमा यस्तो सुविधा थिएन । यसको कार्यान्वयन नेप्सेमार्फत हुनेछ । नेप्सेले आवश्यक व्यवस्था गरी ब्रोकरहरुलाई कार्यान्वयनका लागि विधि र प्रक्रिया तय गर्नेछ । त्यसो त धितोपत्र बोर्डले यसअघि नै मार्जिन ऋण सम्बन्धी आवश्यक कानुनी व्यवस्था गरिसकेको छ ।
धितोपत्र बोर्ड अध्यक्ष कार्कीका अनुसार कार्यान्वयनका लागि कार्यविधि शुक्रबार नै नेप्सेमा पठाइनेछ । यसअघि बोर्डले वैशाख १७ गते नै यो कार्यविधि पारित गर्ने जनाएको थियो । तर बोर्ड सञ्चालक समितिका सदस्यहरुले फेरि एकपटक बुँदागत रुपमा अध्ययन गर्नुपर्ने बताएपछि त्यतिबेला कार्यविधि पारित हुनबाट रोकिएको थियो ।
लगानीकर्ताको वित्तीय अवस्था बारे बैंकहरु भन्दा ब्रोकर कम्पनीहरु बढी जानकार हुने भएकाले ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई पनि कर्जा जोखिम न्यूनीकरण गर्न सजिलो हुने कतिपयको बुझाई छ ।
पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गर्दै कार्यविधि बनाएर सेयर लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिन सक्ने नीतिगत व्यवस्था गरेको हो । बोर्डले नेप्सेलाई मार्जिन लेन्डिङको कार्यविधि तयार पारेर पठाउन गत कात्तिक २० गते निर्देशन दिएको थियो ।
मार्जिन लेन्डिङ सुविधा दिन कस्तो छ नियम ?
धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । जसमा विभिन्न २३ बुँदा समावेश रहेका छन् । बोर्डले गत कात्तिक २० गते जारी गरेको निर्देशनको केही बुदाँमा धितोपत्र दलाल व्यवसायीहरुले असहमति पनि जनाए । असहमतिका विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले छलफल समेत गर्यो ।
यस्तै बोर्डले निर्देशनमा मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने भएपछि धितोपत्र व्यवसायीहरुले विरोध जनाएका थिए । उनीहरुले यसलाई परिमार्जन गर्न पटक–पटक आग्रह गरेका थिए । तर बोर्डले यसमा संशोधन गरेको छैन । मार्जिन लेन्डिङ सुरु भएपछि लगानीकर्ताले सेयर कर्जाको प्रकृया ब्रोकरमार्फत नै अघि बढाउन सक्नेछन् ।
ब्रोकरहरुले आफ्ना ग्राहक पहिचान, कारोबार र सेयर संख्याका आधारमा बैंकिङ नियम अनुसार मार्जिन कर्जाका लागि सिफारिस गर्न सजिलो हुनेछ । यो सेवा सुरु भएमा ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई कर्जाको जोखिम न्यूनीकरण गर्नसमेत सजिलो हुने अपेक्षा छ ।
ब्रोकरहरुले कम्तिमा १० हजार सेयरधनी भएका तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १०% लाभांश वितरण गरेका सूचीकृत कम्पनीको सेयर किन्न मात्र मार्जिन ऋण दिन पाउनेछन् । मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्नेछ ।
सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५०% ले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ । ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् ।
कुनै एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १०% सम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् । धितोपत्र व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्न आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्नुपर्नेछ ।
0 Comments