सेयर बजारका लगानीकर्तामा ब्याप्त भ्रम र त्यसको वास्तविकता

केही लगानीकर्तामा धेरै हकप्रद दिने कम्पनीहरु राम्रा हुन भन्ने भ्रम रहेको पाईन्छ । त्यस्ता लगानीकर्ता कम्पनीले हकप्रद सेयर दिन लाग्यो भन्दै उचालिएर सेयर किन्छन् । जत्ति धेरै हकप्रदको अनुपात हुन्छ, त्यत्ति धेरै उचालिनेहरुको संख्या पनि उत्तिकै हुन्छ । वास्तवमा कम्पनीले हकप्रद दिन लागेको हैन, सेयर बेचेर सेयरधनीबाट पैसा लिन लागेको हो ।

हकप्रद सेयर जारी हुनु भनेको सेयरधनीले सस्तोमा सेयर किन्ने अवसर प्राप्त गर्नु त पक्कै हो । कतिपय कम्पनीको सेयर मूल्य उच्च रहेको बेला यस्ता हकप्रद सेयरले सेयरधनीलाई अवसर दिएको ठान्न सकिन्छ भने दोस्रो बजारमै सस्तो अर्थात प्रतिकित्ता एक सय पचास रुपैयाँ आसपास साधारण सेयर पाईरहेको बेला त्यस्ता कम्पनीका सेयरधनीलाई हकप्रद भालुको कम्पट अर्थात बेकारको टाउको दुखाई बन्छ । त्यसैले हकप्रद आउने भयो भनेर उचालिएर सेयर किन्नु मुर्खता हो ।

जत्ति धेरै कमजोर कम्पनी हुन्छ, उसले त्यत्ति नै धेरै हकप्रद जारी गरेर सेयरधनीबाट पैसा लिन लागेको हुन्छ । धेरै हकप्रद जारी गर्ने कम्पनीले त्यसैको अनुपातमा खुद नाफा र प्रतिसेयर आम्दानी पनि बढाउँन सक्दैन भने त्यो लगानीकर्तालाई घाटा हो । त्यसैले पूँजी बढाए अनुसार खुद नाफा र प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसक्ने कम्पनीको हकप्रदमा उचालिएर सेयर किन्नु हुँदैन ।

यसपालिको दशै तिहारमा धेरै ठाउँमा जुवा खेलेर कयौं मानिसहरुले हारजित गरेको सुनिएको छ । सेयर बजार पनि त्यस्तै जुवाको खाल हो भन्ने भ्रम कतिपय लगानीकर्तामा विकशित भएको पाईन्छ । वास्तवमा सेयर बजार जुवाको खाल हुँदै हैन । सेयर बजारमा ब्यापार गर्नेहरुले यसलाई जुवाको खाल बनाउने प्रयास त गर्छन तर सुरक्षित लगानी गर्नेकाहरुका लागि पर्याप्त अवसरहरु भएको खुला मैदान हो, सेयर बजार। जुवाको खालमा थापिएको सबै पैसा जानसक्छ तर सेयर बजारमा लगानी गरिएको पैसा सबै स्वाहा भएर जाँदैन । खराब कम्पनी पर्यो भने पनि २५ देखि ५० प्रतिशतसम्म लगानी त बचेकै हुन्छ । बजारमा हुने घटबढले राम्रो कम्पनीको सेयरको मूल्यमा केही तलमाथि मात्र भईरहन्छ । अर्थतन्त्रको आकारमा बृद्धि, कम्पनीकोअबस्थामा परिबर्तन लगायतका कुराहरुले सम्पति बढिरहेको हुन्छ । सेयर बजारमा राम्रा कम्पनी छानेर दीर्घकालीन लगानीगरिएको अबस्थामा फाईदै फाईदा हुनसक्छ ।

सेयर बजार नशा वा अम्मल हो भन्ने भ्रम पनि केहीमा पाईन्छ । सेयर बजारका लगानीकर्ता अम्मलीहरु हैनन्, उनीहरु लगानीकर्ता हुन जो कम्पनीहरुको पूँजीको हिस्सेदार हुन्छन्, कम्पनीले गर्ने प्रगति र त्यसबाट लाभांश प्राप्त हुने आश गर्छन । हरेक दिन सेयर दलालको कार्यालयमा गईरहने र सेयर बजारसम्बन्धी अध्ययन गरिरहने भयो भन्दैमा अम्मली भन्न मिल्दैन । कारोबारी पनि भन्न मिल्दैन, लगानीकर्ता नै हो ।

तर सबै काम छाडेर सेयर बजारमा लाग्दा मालामाल भईन्छ भन्ने भ्रम पनि त्याग्नु जरुरी छ । आफुले अंगालिरहेको पेशा ( ब्यवसायलाई राम्रैसँग अगाडि बढाएर, ब्यवस्थित रुपमा संचालन गरेर पनि सेयर बजारमा लगानी गर्न सकिन्छ र यसो गर्दा दोहोरो फाईदा हुनसक्छ । सबै काम छाडेर सेयर बजारमा लाग्दा कुनै कारणले सेयर बजारमा संकट आयो भने आफु पनि संकटमा पर्न सकिन्छ भन्ने हेक्का राखिरहनुपर्छ । त्यसैले नियमित कामहरु पनि चालु राखिरहेर सेयर बजारमा लगानी गर्दै जानुपर्छ । नत्र चीनका किसानहरु आफ्नो खेतिपाति छाडेर सेयर बजारमा लाग्दा केही समय अघि थाम्नै नसक्ने खालको घाटामा परेको जस्तै घटना हुनसक्छ ।

सबैं सेयर दलाल र ठूला लगानीकर्ताहरुले सही सल्लाह नै दिन्छन भन्ने भ्रम कतिपयमा पाइँन्छ । यस्तो भ्रम पाल्नहुन्न । सबै सेयर दलाल र ठूला खेलाडीले गलत सल्लाह दिन्छन पनि कदापी भन्न सकिन्न । उनीहरुले दिएको सल्लाहलाई तौलेर आफ्नै अध्ययन, बिश्लेषण र विवेकले निर्णय गरी सेयर किनबेच गर्नुपर्छ ।

जस्तो कम्पनीको आईपीओमा आबेदन गर्दा पनि कहिल्यै घाटा हुँदैन, दोस्रो बजारमा छिर्यो भने डुबिन्छ भन्ने कतिपय ब्यक्तिहरु ठान्छन् । कतिपय खराब वा बित्तीय अबस्था कमजोर भएका वा गलत नियतका संचालकहरु रहेका कम्पनीहरुको प्राथमिक सेयर अर्थात आईपीओमा आबेदन गरेर सेयर पार्दा पनि दीर्घकालीन हिसाबले घाटै हुनसक्छ । कम्पनी राम्रै भए पनि माग गरेको भन्दा अत्यन्त थोरै (१० कित्ता) सेयर पर्यो भने खासै फाईदा हुँदैन । कतिपय बेला दोस्रो बजारमै आईपीओ लागतमूल्यमा राम्रा कम्पनीको सेयर पनि पाईनसक्छ, यस्तो बेलामा लगानी गर्नेले धेरै फाईदा लिनसक्छ । दोस्रो बजारमा प्रबेश गर्ने बित्तिकै घाटै खाुनपर्ने भन्ने हुन्न । कम्पनी कस्तो हो र एक कित्ता सेयरलाई कति मूल्य तिरियो भन्ने कुरामा भरपर्छ ।सेयर बजार घटेर तल्लो बिन्दुतर्फ आएर सेयर सस्तिएको बेला नयाँ लगानीकर्ताको प्रबेश अपेक्षित मानिन्छ तर यस्तो बेलामा धेरै नयाँ लगानीकर्ता बजारमा पस्न डराउँछन् ।

सेयर बजार घटेको बेला बजार प्रबेश गर्ने र मूल्य बढेको बेला बेचेर नाफा सुरक्षित गर्ने सामान्य तरिकाहरु हुन् । बृद्धि र बिकास हुँदै गरेको नेपालको सेयर बजारमा मध्यम मूल्यका बाणिज्य बैंकलगायत कयौं राम्रा कम्पनीका सेयरमा लगानी सुरक्षित छ ।

लगानीकर्ताहरुमा अर्को भ्रम पनि छ, मर्जर र एक्विजिशनमा जाने कम्पनीहरु राम्रा हुन्छन्, तिनीहरुको सेयर जत्तिमा पाए पनि किन्नुपर्छ । मर्जर र एक्विजिशनमा जाने कम्पनीहरु आफै कमजोर हुन्छन र टिक्न नसकेपछि बलियोको सहारा खोज्दै गएका वा जान लागेका हुन् । त्यस्ता कम्पनीहरुको उचालिएर सेयर किन्नु हुँदेन । अर्कोतर्फ मर्जर र एक्विजिशनका कारणले त्यस्ता कम्पनीहरुको सेयर कारोबार लामो समयसम्म बन्धक बन्ने हुनाले बजार बढेको बेला बेच्न, नामसारी गर्न, बैंकमा धितो राख्न समस्या पर्छ । बलियो कम्पनीले कमजोर कम्पनीलाई मर्ज गर्दा वा किन्दा कम स्वाप दिने हुँदा सेयर संख्या कम हुन जानाले पनि घाटा लाग्नसक्छ । जस्तो विगतमा महाकाली बिकास बैंकको सेयर मूल्य उचालिएर किन्नेहरुले कुमारी बैंकमा बिलिन भएपछि थाम्नै नसकिने घाटा खाए ।

पूँजी आधार राम्रो र बलियो कम्पनीको सेयर मूल्य चाँडै बढ्दैन, त्यसैले त्यसमा फाईदा हुँदैन, पूँजी आधार कमजोर र प्रगति नगर्ने कम्पनीहरुको सेयर मूल्य सस्तो हुन्छ र चाँडै बढ्छ भन्ने भ्रम पनि रहेको पाईन्छ । तर यसमा आंशिक सत्यता छ । पूँजी आधार कमजोर रहेको र नराम्रो कम्पनीमा दुई, चार करोड लगानी गर्नेले बजारबाट कर्नरिड. गरेर प्रायः सबै सेयर उठाउँनसक्छ र सेयर उठाईसकेपछि उसले हल्ला गर्न थाल्छ । सेयर बजार हल्लाको बजार हो भन्नेहरुलाई त्यस्ता हल्लाहरुले प्रभावित बनाईहाल्छ र सेयर किन्नेहरु अर्थात माग अलिकित बढ्दा त्यस्ता कम्पनीहरुको सेयर मूल्य पनि बढ्छ र पहिले सस्तोमा सेयर किनेर बस्नेले बेचेर धेरै नाफा कमाउँछ तर सुरक्षित लगानीको हिसाबले हेर्दा यो ज्यादै ठूलो जोखिम हो । यस्ता जोखिम उठाउँदा सम्पति घटेर आधा हुने वा सेयर बेच्न नपाई राखिरहँदा बर्षौसम्म कुनै लाभांश नपाउने गरी घाटा ब्यहोर्न पर्छ । यस्तो खेलमा लाग्नु हुँदैन ।

एकैचोटी धेरै बोनस दिने कम्पनी पनि राम्रा हुन्छन् भन्ने अर्को भ्रम रहेको पाईन्छ । कुनै कम्पनीले बर्षौदेखि जगेडा कोषमा थुपारेको बाड्न मिल्ने रकम वा कुनै किसिमले प्राप्त भएको एकमुष्ट रकमबाट एकैपटक धेरै बोनस घोषणा गर्यो भने लगानीकर्ताहरु उचालिएर त्यस्ता कम्पनीको सेयर किन्छन् । वास्तवमा त्यसरी उचालिनु घातक हुनसक्छ । कम्पनीले एकैपटक धेरै बोनस दिएर पूँजी धेरै बढाएपछि खुद नाफा र प्रतिसेयर आम्दानीमा सन्तुलन गर्नसक्दैन र आगामी बर्षहरुमा प्रतिफल घटेर जान्छ । धेरै बोनस पाउने लोभमा अहिलेउचालिएर सेयर किन्दा पछि सेयर मूल्य घटेपछि लाभांशले नधान्दा घाटा खाएर सेयर बेच्नुपर्छ । एकैचोटी धेरै बोनस दिनेभन्दा बिगतका बर्षहरुमा पूँजी, जगेडा कोष, कारोबार, खुद नाफा, प्रतिसेयर आम्दानी र बोनस दिने दर बढाउँदै आएको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ।

धेरै खुद नाफा देखाउने र प्रतिसेयर आम्दानी भएका कम्पनीहरु राम्रा हुन भन्ने भ्रमलाई पनि हटाउनु जरुरी छ । धेरै खुद नाफागर्यो, प्रति सेयर आम्दानी धेरै देखायो तर त्यसको स्रोत नियमित आम्दानी हो कि सम्पति बेचेर वा डुबेको कुनै कर्जा उठाएर हो भन्ने यकिन गर्नुपर्छ । सामान्यतया सम्पति बेच्ने, नियमित कारोबारबाट आम्दानी बढाउने र डुबेको कर्जा पनि उठाएर सन्तुलित प्रगति गर्दै आएका कम्पनीहरु राम्रा हुन्छन् । कुनै कम्पनीले एक त्रैमासमा खुद नाफा ह्वात्तै धेरै देखायो भने पनि अर्को त्रैमासमा त्यस्तै प्रगति नदेखाउनसक्छ । क्रमबद्ध प्रगति गर्दै आएका कम्पनीहरु राम्रा हुन । प्रतिसेयर आम्दानी धेरै देखाएका लघुवित्त कम्पनीहरुले यसपालि दिएको लाभांशप्रति लगानीकर्ताले मुख फर्काएबाट पनि पाठ सिक्नु जररुी छ ।

खेलाडीहरु लागेकै सेयर किन्दा फाईदा हुन्छ भन्ने अर्को भ्रम पनि रहेको पाईन्छ । खेलाडीहरुले आफुले किनेको वा किन्न लागेको साना कम्पनीको सेयरको भाऊ तलमाथि पार्ने खेल त गर्छन तर सर्बसाधारण लगानीकर्तालाई कहाँ पुर्याएर भीरबाट खसाल्छन् भनेर भन्न सकिन्न । सेयर बजारमा सुरक्षितलगानी गर्न चाहनेहरुले त्यस्ता खेलाडीहरुको पछि लागेर उचालिई सेयर नकिन्नु नै सुरक्षित हुने उपाय हो ।

हल्ला गर्ने कम्पनीहरुमा लाग्नुपर्छ, सेयर मूल्य बढेर फाईदा हुन्छ भन्ने भ्रम पनि केहीले पालेको पाईन्छ । जहाँ बिबाद हुन्छ, त्यसको हल्ला बढी हुन्छ । जुन कम्पनीका संचालकहरु र कारोबार खराब हुन्छ, त्यसको चर्चा बढी भएको पाईन्छ । राम्रा कम्पनीहरु न त आफुले हल्ला गर्छन न त अरुले बिबादमा नै ल्याउँने प्रयास गर्छन । त्यसैले हल्ला गर्ने कम्पनीहरुको सेयरमूल्य बढेर फाईदा हुन्छ भन्ने भ्रम त्यागी हल्ला नगर्ने राम्रा र बलिया कम्पनीहरुकै सस्तो सेयरमा लगानी गरेर जोखिमबाट बच्नुपर्छ ।

बिगतमा बिग्रेको कम्पनी सधैं नराम्रो हुन्छ भन्ने अर्को भ्रमले पनि कतिपय लगानीकर्तामा घर गरेको पाईन्छ । म त फलानो कम्पनीको नामै सुन्न चाहन्न किनभने त्यो बिगतमा बिग्रिएर धेरै लगानीकर्तालाई डुबाएको थियो भनी टिप्पणी गर्नेहरु थुप्रै भेटिन्छन् ।तर बिगतमा बिग्रिएर बदनाम भएका कम्पनीहरु पनि राम्रा बनेर आएका हुनसक्छन् । राम्रै प्रतिफल बाड्ने हैसियत बनाएकाहुनसक्छन्, उसको बित्तीय बिबरण र अन्य कुराहरुको तुलनात्मक अध्ययन गरेर थाहा पाउन सकिन्छ र त्यस्ता कम्पनीहरु पनि लगानीका लागि योग्य हुनसक्छन् ।

धेरैले किनेको र बजारमा धेरै कारोबार भईरहने सेयर मात्रै किन्नुपर्छ भन्ने भ्रम पनि कतिपयले पालेको पाईन्छ । वास्तवमा बजारमा धेरै कारोबार नभएका, धेरै लगानीकर्ताको आँखा नपरेका कम्पनीहरु पनि राम्रा हुनसक्छन् । त्यस्ता कम्पनीहरुको खोजी गरी लगानी गर्दा पनि प्रतिफल राम्रो आउनसक्छ ।

सेयर बजार घट्न थालेपछि सेयर बेच्नुपर्छ र बढ्न थालेपछि किन्नुपर्छ भन्ने भ्रम पनि केहीले पालेका भेटिन्छन् । बजार घट्दै गएपछि सेयर बिक्री गर्ने क्रम बढाउने र बढ्न थालेपछि किन्ने क्रम बढाउने प्रबृत्तिले नेपालको सेयर बजारलाई प्रभावित पारिरहेकै छ । तर यसो गर्नु राम्रो हैन । सेयर बजार घट्दै जाँदा किन्ने र बढ्न थालेपछि बिक्रीको क्रम बढाउने गर्दा जोखिमबाट बच्न सहयोग पुग्छ र फाईदा सुरक्षित गर्न सकिन्छ । कतिपय अबस्थामा घाटा कम गर्नलाई घटिरहेको बजारमा सेयरबेच्नु(स्टप लस)लाई स्वभाविक मान्न सकिन्छ तर आम रुपमा त्यसै गर्नु हुँदैन ।

धेरै प्रतिसेयर आम्दानी भएका कम्पनीहरुलाई जत्ति मूल्य हाले पनि हुन्छ भन्ने भ्रम पनि कतिपयमा रहेको पाईन्छ । दुई करोड चुक्ता पूँजी रहेको कम्पनीले तीन करोड खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५० रुपैयाँ कायम गर्यो भन्दैमा त्यसको सेयर उचालिएर किन्नु घातक हुन्छ । नियमनकारी निकायको बाध्यकारी निर्देशनका कारण हकप्रद जारी गरेर पूँजी बढायो वा अरु कुनै कम्पनीसँग मर्जमा जाँदा कम स्वाप रेसियो तोकियो भने उचालिएर सेयर किन्नेहरु घाटामा पर्नसक्छन् । कम्पनी आफैले लाभांश घोषणा गर्दा पनि प्रतिसेयर आम्दानी अनुसारकै अनुपातमा लाभांश नबाड्न सक्छ ।

धेरै लाभांश बाड्ने कम्पनीहरु राम्रा हुन्छन् भन्ने भ्रम पनि पाल्नु हुँदैन । धेरै लाभांश दिने नाममा कम्पनीले ९० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दियो भने उचालिएर सेयर किन्नेलाई खासै फाईदा हुँदैन । त्यसैले नगद भन्दा बोनस धेरैदिने कम्पनी नै रोज्नु उचित हुन्छ । यो कुरा संस्थापक सेयरधनीको हकमा भने ठ्याक्कै उल्टो हुनसक्छ । उनीहरु बोनस भन्दा नगदमै जोड गर्छन किनभने उनीहरुलाई नगद धेरै चाहिएको हुन्छ ।

कम मूल्य आम्दानी अनुपात भएका कम्पनीहरु मात्रै राम्रा हुन्छन् भन्ने भ्रमलाई पनि चिरफार गरेर हेर्नुपर्छ । सामान्यतया मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेका कम्पनीहरु राम्रा त हुन तर मूल्य आम्दानी अनुपात मात्रै हेरेर हुन्न, कम्पनीका अन्य आधारभुत कुराहरु पनि सँगै दाज्नुपर्छ । कतिपय अबस्थामा मूल्य आम्दानी अनुपात ५० गुणा भन्दा बढीभएका कम्पनीहरु पनि अन्य आधारभुत सूचकहरुको आधारमा हेर्दा राम्रा ठहरिन सक्छन् । मूल्य आम्दानी अनुपात पनि हेर्नु त राम्रो हो तर त्यसैलाई कम्पनी बिश्लेषणको मुख्य आधार बनाउँदा अपेक्षित लाभ लिनबाट पछि परिनसक्छ ।

सेयर बजार बढेको बेला आफुसँग भएको सबै सेयर बेच्नुपर्छ भन्ने भ्रम पनि हटाउनु आबश्यक छ । सेयर बजारमा राम्रा कम्पनीको सेयर सस्तोमा किनेर बस्नेहरुले दीर्घकालमा जितेकै हुन्छन् । सेयर बजार बढेको बेलामा आफुसँग भएका मध्ये नराम्रा कम्पनीका मूल्य धेरै बढेका सेयरहरु बेच्नु त पर्छ तर सबै सेयरहरु बेचेर रित्तो हुनुहुन्न किनभने आफुले सेयरबेचेपछि फेरि बजार बढ्यो र महंगोमा सबै सेयरहरु किन्नुपर्यो भने घाटै हुन्छ । त्यसैले निकै सोच बिचार गरेर सेयर किनबेच गर्नुपर्छ । आईपीओमा परेका वा सस्तोमा किनिएका राम्रा कम्पनीको सेयर कहिल्यै नबेचेर राख्दा पनि धेरै फाईदा हुन्छ ।

एउटै कम्पनीमा सबै पैसा लगानी गर्यो भने धेरै फाईदा हुन्छ भन्ने भ्रम पनि कतिपयमा रहेको देखिन्छ । उनीहरु आफुसँग भएको सबै पैसा खर्च गरेर एकैदिन एउटै कम्पनीको सेयर उठाउँछन् र धेरै फाईदा लिने सोच बनाउँछन् तर त्यस्तो कार्य निकै जोखिमपूर्ण हो । त्यो कम्पनी खराब पर्यो वा कुनै कारणले सेयर बजार घट्यो र मूल्य तल आयो भने थामिनसक्नको घाटा खानुपर्छ । कुनै कारणले त्यो कम्पनीको सेयर कारोबार बन्द भयो, सबै पैसा बन्धक बन्यो भने बजारबाट आफुलाई आबश्यक परेको पैसा झिक्ने उपाय केही हुन्न । त्यसैले यस्तो मुर्खता नगरी कम्तिमा १० वटा राम्रा कम्पनी छानेर सस्तो मूल्यमा सेयर किनी लगानी बिबिधिकरण अर्थात डाईभर्सिफाई गर्नुपर्छ । यसले जोखिमबाट बचाउँछ । कुनै एउटा कम्पनीको अबस्था खराब भयो भने पनि नौ वटा कम्पनीले बचाउँछ र फाईदामा पुर्याउँछ ।

केही मानिसहरु के ठान्छन् भने सेयर बजार सधैं बढिरहन्छ वा सधैं घटिरहन्छ । यस्ता भ्रमहरुबाट पनि लगानीकर्ताहरुमुक्त हुनु जरुरी छ । वास्तवमा घटबढ भईरहने सेयर बजारको सुन्दरतम पक्ष हो । सेयर बजार सिधा रेखामा कहिल्यै हिड्दैन। बिभिन्न कारणहरुले गर्दा सेयर बजार बढ्छ र घट्छ, यसमा माग र आपुर्तिको नियम बिशेष रुपमा लागु हुन्छ ।

यही कारणले यही बेला सेयर बजार घट्छ र बढ्छ, घटेर यहाँसम्म पुग्छ र बढेर त्यहाँसम्म पुग्छ भन्ने भ्रम पनि धेरैले पालेका हुन्छन्।केही ब्यक्तिहरु सेयर बजार यही बेला, यस कारण बढ्छ र यही बेला यस कारण घट्छ र यहाँ पुग्छ भनेर भबिष्यबाणी गर्ने मुर्खता गर्छन, जुन कुरा प्रायः जसो मिथ्या सावित भएका छन् । सेयर बजारको भबिष्यबाणी गर्न कसैले सक्दैन, केही अनुमान चाँही लगाउन सकिन्छ । अनुमान ठ्याक्कै मिल्छ नै भन्न सकिन्न ।

सेयर बजारको सूचक नेप्से नै सबैथोक हो भन्ने भ्रम पनि केही ब्यक्तिहरुले पालेका हुन्छन् । कसैले १०० कित्ता पनि सेयर किनेका हुन्नन्, उनीहरुले दिनदिनै आज नेप्से कति पुग्यो ? कहाँ पुग्ला भनी सोधेर हैरान पार्छन । ती ब्यक्तिले आफुले किनेको सेयरको भाऊ कहाँ पुग्यो भनेर बिरलै हेरेको पाईन्छ तर सेयर बजारको सूचक नै सबैथोक हो भन्ने ठान्छन् र घरिघरि त्यसको चिन्ता गरिहरन्छन् । कतिपय बेलामा सेयर बजारको सूचक बढ्दा र घट्दा पनि लगानीकर्ताले किनेको कुनै सेयरको मूल्य तलमाथि नभएको अबस्था पनि हुन्छ । नेप्से घट्दा पनि कुनै सेयरको भाऊ अचम्म लाग्ने गरी बढेको पनि हुनसक्छ । त्यसैले समग्र सूचकको चिन्ता गर्न छाडी आफ्नो सेयरको मूल्य र कम्पनीको बारेमा बढी ध्यान दिएको राम्रो ।

यस्ता भ्रमहरुबाट मुक्त भई अहिले सुरक्षित रुपमा दीर्घकालीन लगानी गरिएको अबस्थामा बृद्धि र बिकास हुँदै गरेको नेपालको सेयर बजारबाट भबिष्यमा राम्रो फाईदा लिन निश्चित रुपमा सकिन्छ ।

Post a Comment

0 Comments

Comments

close