बन्ने होइन त स्मार्ट लगानीकर्ता ? धितोपत्र बोर्डले दियो यस्तो टिप्स....................


Business Partner Nepal pvt.ltd.
काठमाडौं : पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई ध्यान दिने र विवेकशील (स्मार्ट) लगानीकर्ता कसरी बन्ने भन्ने विषयमा धेरैमा अझै अन्योलता देखिन्छ । पर्याप्त जानकारी अभावमा कतिपयले अरुको लहैलहैमा लागेर सेयर बजारमा प्रवेश गर्ने गरेको पनि पाइन्छ । यसले गर्दा लगानीकर्ताले पुँजी बजारबाट सोचे अनुरुपको नाफा कमाउन सक्दैनन् । अनि नाफा कमाउन भाग्यमै भर पर्नुपर्छ । यसै सन्दर्भमा धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था आइएसकोले अहिले विश्व लगानीकर्ता सप्ताह मनाइरहेको छ । नेपाल धितोपत्र बोर्ड पनि आइएसकोको एसोसिएट सदस्य भइसकेकाले यसले पनि लगानी सप्ताह मनाउने क्रममा लगानीकर्तालाई सुसूचित गराउने कार्यक्रमहरु गरिरहेको छ । बोर्डले लगानी सप्ताह कार्यक्रम मनाउने क्रममा विवेकशील लगानीकर्ता कसरी बन्ने भनेर केही टिप्स दिएको छ । प्रस्तुत छ बोर्डले दिएको प्रमुख टिप्सहरु । 

१. लामो  समय अर्थात दीर्घकालिन लगानी गर्ने । छोटो समयका लागि गरिएको लगानी बढी जोखिमयुक्त हुन सक्छ । लगानी जति बढी समयको लागि गर्याे जोखिम व्यवस्थापन गर्न पनि त्यति नै सहज हुन्छ ।

२. दोस्रो बजारमा उपलब्ध सेयरमा लगानी गर्दा न्यून मूल्य–आम्दानी अनुपात –पीई रेसियो) हुने सेयरलाई प्राथमिकता दिई लगानी गर्ने । यस प्राथमिकताले सेयरको वर्तमान मूल्य भन्दा भविष्यको सम्भावनालाई जोड दिन्छ जुन न्यूनतम लगानीमा बढी प्रतिफल आउने हुन्छ ।

३. सेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने ।
४. अर्थतन्त्रमा तरलताको अवस्था, देशको राजनीतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सधैं सचेत भई लगानी गर्ने ।

५. लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको वेबसाइट नियमित रुपमा हेर्ने, अर्थतन्त्रसँग सम्बन्धित संचार माध्यम तथा नियमन निकायको नीति निर्देशन, उद्योग व्यवसायको सम्भावना  र कम्पनीको मूल्य संवेदनशील सूचना नियमित रुपमा अध्ययन र विश्लेषण गर्ने ।

६. लगानीलाई विविधिकरण गर्ने, सेयर खरिद बिक्रीको उपयुक्त समय पत्ता लगाउने ।

७. लगानी गर्दा अपेक्षित प्रतिफल किटान गर्ने र किटान गरिएको प्रतिफल प्राप्त हुने बित्तिकै सेयर बिक्री गर्ने, असिमित प्रतिफलको अपेक्षा नगर्ने ।

८. आधारभूत विश्लेषण र प्राविधिक विश्लेषण सम्बन्धी आवश्यक ज्ञान प्राप्त गर्ने तथा सोही अनुसार विश्लेषण गरी लगानी गर्ने ।

९. सम्बन्धित ऐन नियममा लगानीकर्ताको हकहित सम्बन्धमा भएको व्यवस्थाहरु तथा लगानीकर्ताको प्रतिफल सम्बन्धी कम्पनीको निर्णयको सम्बन्धमा सुसूचित भई लगानी गर्ने ।
१०. सुसूचित, संयमित तथा विवेकशील भई जोखिम वहन गर्ने क्षमता अनुसार धितोपत्रमा लगानी गर्ने ।

११. दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, कम्पनी व्यवस्थापनमा परिवर्तन, कम्पनी प्रबद्र्धक तथा व्यवस्थापनको व्यावसायिक इमानदारिता, भावी योजनाहरु, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्ने ।

१२. सार्वजनिक रुपमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति, लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्ने ।

१३. सूचीकरण खारेजी भएका तथा सूचीकरण नभएका पब्लिक लिमिटेड कम्पनीका धितोपत्रहरु ओटीसी बजारबाट कारोबार गर्न सकिने सम्बन्धमा जानकार रहने । 

(धितोपत्र बोर्डका निर्देशक डा.नवराज अधिकारीको प्रस्तुतीकरणमा आधारित)

Post a Comment

0 Comments

Comments

close